कीटकाे अभाव भएपछि बीपीमा काेराेना परीक्षण प्रभावित

८ आश्विन २०७७, बिहीबार

विराटनगर । असोज ७

सुनसरीको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । पीसीआर परीक्षण गर्ने किटको अभाव भएको कारण प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द गरिएको हो ।

पीसीआर परीक्षण गर्ने कीटको नहुँदा प्रतिष्ठानमा उपचाररत सिकिस्त बिरामीको समेत शल्यक्रिया रोकिएको छ । शल्यक्रिया गर्नुअघि पिसिआर परीक्षण गर्ने गरिएकोमा कीटको अभाव भएसँगै प्रतिष्ठानको आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी , प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जनाएका छन् । त्यस्तै परीक्षण गर्ने कीट नभएका कारण प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएका महिलाको समेत शल्यक्रिया रोकिएको उनले जनाएका छन् ।

प्रदेश र संघीय सरकारबाट परिक्षण गर्नेे रिएजेन्टको अभाव भएसँगै अब प्रतिष्ठानमा निःशुल्क गरिँदै आएको पीसीआर परीक्षण सेवा बन्द गरिएको र अब २ हजार रुपैयाँ शुल्क लिएर मात्र परीक्षण गर्ने प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले जनाएका छन् ।

प्रदेशका अरु ल्याबहरुमा समेत कीटको अभावका कारण अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण भइरहेको छ ।

कोरोना परीक्षणका लागि चाहिने रिएजेन्ट केमिकल उपलब्ध नहुँदा ल्याबहरुले परीक्षण बन्द गर्नुपरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयन्द्र यादवले जानकारी दिएका छन् ।