पर्यटन मन्त्रालयको दुई दिन विदा दिने प्रस्ताव मन्त्री परिषदमा पेश हुने

८ आश्विन २०७७, बिहीबार

विराटनगर । असोज ७

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको उच्चस्तरीय बैठकले पर्यटन प्रवर्धनका लागि हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाएर मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा बनाइएको कार्य समितिमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी रहेको समितिले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गराएर अध्ययन प्रस्ताव तयार गरिने बताइएको छ ।

त्यस्तै बैठकमा पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालयलाई पुन: सर्वसाधारणको सुविधाका लागि खोल्ने सम्बन्धमा समेत प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) मा पेश गर्ने निर्णय गरेको छ । साथै असोजभित्र बङ्गलादेश, इन्डोनेशिया, रसिया, कोरिया र फिनल्याण्डसँग भएको हवाई सम्झौता तयार गरेर मन्त्रिपरिषदमा पेश गर्ने समेत निर्णय गरेको छ ।

यसका साथै बैठकमा हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी एक हप्ताभित्र मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।