अाज दिनभर र राती समेत वर्षाको अनुमान

९ आश्विन २०७७, शुक्रबार

अहिले देशका पुर्वीय भुभाग सहित बागमती गण्डकी र प्रदेश ५ का केही स्थानमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको मध्य प्रदेशको पुर्वी भूभागमा अहिले न्युन चापीय क्षेत्र उत्तर पूर्व सरेको कारण अझै केही दिन वर्षा हुन सक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अाज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र प्रदेश नं २ का केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै अाज राती देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने सम्भावित क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले त्यस्तो क्षेत्रमा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।