विराटनगरमा मसला उद्योगलाई २ लाख जरिवाना

९ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज ९

विराटनगरमा लकडाउनको मौका छोपेर मुल्यवृद्धि गर्ने एक मसला उद्योग कारबाहीमा परेको छ । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर–१० शान्ति टोलको बिके.एम मसला उद्योगलाई लकडाउनको मौका छोपेर मसलाको मूल्य अत्याधिक वृद्धि गरेको अारोपमा २ लाख रुपैया जरिवाना तोकेको हो ।

उद्योगले ४ सय ५० रुपैयाँ प्रति किलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयाँमा बिक्री गरेको पाइएको छ । वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले अनुगमन गर्दा उद्योगले १५० प्रतिशत भन्दा बढी मूल्य वृद्धि गरेको पाइएक‍ो हो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मूल्य लिएमा २ लाख देखि ३ लाख रुपैयासम्म जरिवाना लाग्ने कानुनी प्रावधान भए अनुरुप अनुगमन टोलीले २ लाख रुपैयाँ जरिवाना तोकेको वाणिज्य कार्यालय विराटनगर प्रमुख सन्तोष पोख्रेलले जनाएका छन् ।

लकडाउनको बाहानामा विराटनगरका बजारमा हरियो तरकारी लगायत खाद्यान्नमा अत्याधिक मुल्य वृद्धि भएको गुनासो बढेसँगै वाणिज्य कार्यालयले बजार अनुगमनलाई तिव्रता दिइएको हो ।

जथाभावी मूल्य वृद्धि गरेर उपभोक्तालाई ठग्ने उद्योग व्यापारी सबैलाई अनुगमन गरी कारवाही गर्ने वाणिज्य कार्यालय विराटनगरले जनाएको छ ।