लुकिछिपी भारतीय बजार गएर फर्किनेलाई दुई साता क्वारेन्टाइन

९ आश्विन २०७७, शुक्रबार

विराटनगर ।असोज ९

कोरोना महामारीमा नेपाल-भारत सीमानाका शिल गरिएपनि सुरक्षाकर्मीको अाखा छलेर दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामाग्री खरिद गर्न सिमा वारीपारी गर्ने क्रम रोकिएको छैन ।

त्यस्तै विराटनगरबाट जोगवनी नाकाका सुरक्षाकर्मीको अाँखा छलेर वारीवारी गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा कडाई गर्नका लागि प्रहरीको आँखा छलेर भारतीय बजार गएर नेपाल प्रवेश गर्नेलाई सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा लगेर राख्न थालेका छन् ।

प्रदेश १ मा मोरङको जोगवनी, सुनसरीको भान्टाबारी, झापाको काँकडभिट्टा र इलामको पशुपती नगर नाकाबाट मात्रै स्थानीय प्रशासनको अनुमति लिएर अावतजावत गर्न पाउने व्यवस्था छ । यी नाका बाहेक अरुतिरका नाकाबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।

सरकारले तोकेको यी नाका बाहेकका नाकाबाट समेत सुरक्षाकर्मीको अाँखा छल्दै आवतजावत गर्नेलाई अब दुई साता क्वारेन्टाइनमा राख्न सुरू गरिएको छ ।

विशेष गरेर भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रमा साना–ठूला ३६ वटा नाका रहेको र चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य सामान खरिद गर्न उपभोक्ताहरू भारतीय सिमावर्ती बजार जाने क्रम बढेपछि प्रशासनले कडाइ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । ‘क्वारेन्टिनमा दुई साता राखेपछि पीसिआर परीक्षण गरेर रिपोर्ट नेभेटिभ आए मात्र घर जान दिनेछौ’ निरौलाले भने ।

त्यस्तै बुधबार दिउसो सशस्त्र प्रहरीले विराटनगर १७ को इश्लामपुरको नाकाबाट लुकिछिपी सिमावर्ती भारतीय बजार जोगवनी गएर फर्किनेहरूलाई क्वारेन्टिनमा लैजान सशस्त्र प्रहरी बल बिओपी रानीले इस्लामपुर नाकामा गाडी राखेको देखेपछि भागदौड मच्चिएको थियो । प्रहरीले क्वारेन्टिनमा लगेर दुई साता राख्ने गरेको चाल पाएपछि भारतीय बजार गएकाकाहरूको भागाभाग चलेको थियो ।