साहित्यमा प्रोत्साहन नपाइरहेका नारीलाई म छन्द कवितामा स्वागत गर्दछु !

९ आश्विन २०७७, शुक्रबार
खाली हात लिएर जन्म जब यो प्यारो धरामा लिएँ,
जे जे आर्जन भो खुशी छ मन यो सन्तोष मानी लिएँ । 
हानाथाप छ के निमित्त जगमा हेर्दैछु छक्कै परी,
के के लानु छ कुन्नि यो भुवनको बोकेर पोल्टैभरि ।।
 
प्रस्तुत कवितांश कवि मञ्जु श्रेष्ठ(मञ्जुभाषिणी) काे तमाशा’ कविताबाट समुद्धरण गरिएकाे हाे । सुनसरीका काेशी गाउँपालिकामा जन्मिएकी कवि श्रेष्ठकाे स्थायी ठेगाना भने महाेत्तरी जिल्लाकाे बर्दिवास हाे । सुनसरीकै इनरुवामा शिक्षण पेशामा संलग्न कविकाे ‘बालुवाको घर'(कथासङ्ग्रह २०७२) र ‘माटोको सुवास’ (छन्दोबद्ध कवितासङ्ग्रह २०७५) प्रकाशित छन् । ससाना केटाकेटीहरूसँग कखरा सिक्दै सिकाउँदै गर्ने क्रममा कविता र कथा विधामा उदाएकी कविकाे मञ्जुभाषिणी साहित्यिक नाम हाे । 
साहित्यका गद्य र पद्य विधा दुवैमा कलम चलाउने गरेकी कवि शास्त्रीय लय र विधानमा रही छन्दाेबद्ध कवितामा अा आफ्ना भावना मुखरित गर्छिन् । शिक्षाशास्त्रमा एम ए र एम.एडसम्म गरेकी कविप्रतिभा पूर्वी नेपालकै सुपरिचित नाम हाे । 
विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनाहरू प्रकाशित गरेसकेकी कविले धरणीधर राष्ट्रिय पुरस्कार तथा सम्मान (२०७५ ) तथा षडानन्द प्रतिभा पुरस्कार (२०७५) माटोको सुवासका लागि प्राप्त गरेसकेकी छन् ।  विराट साहित्य सङ्गम, मोरङ छन्दवाटिका नेपाल र नारी श्रष्टा समाज मोरङ आबद्ध रहेकी कवि तथा कथाकार पूर्वी नेपालकी साहित्यिक स्रष्ठा हुन् । उनै कवि मञ्जुभाषिणीसँग हाम्राे विराटनगरकाे साप्तहिक श्रृङ्खला स्रष्टा र साहित्यकाे बसाइमा भलाकुसारीका लागि निमन्त्रण गरिएकाे छ ।

हाम्राे विराटनगरका संपादक अभिमन्यु अभिजितले वहाँसँग गर्नुभएकाे शुक्रबार-संवादकाे संपादित अंश –
१. आराम हुनुहुन्छ? बन्दाबन्दीका दिनहरू कसरी बितिरहेका छन्?
-आरामै छु। बन्दाबन्दीको केही समय त बन्दाबन्दीले जनजीवनमा पारेको प्रभाव सोचेर बस्दै दिन बिते। फेरि बन्दाबन्दीको विकल्प पनि त थिएन । पीर मानेर बसेर पनि भएन । पछि विद्यालय पनि जान आउन थालियो । अलिअलि लेखनमा पनि समय दिन थालेँ ।
२. मञ्जु मञ्जुभाषिणीमा कथा र छन्द कवितामा गहिरो लगाव देखिन्छ। यसको प्रेरणा वा भनौं प्रभाव कसरी हुनपुग्यो?
– म सानै हुँदा मेरी आमा साहित्यिक पुस्तकहरू खूब पढ्नुहुन्थ्यो ।उहाँका सिरानीतिर डस्नामुनि कथा र उपन्यासका थुप्रै पुस्तकहरू हुन्थे।केटाकेटीले च्यातिदेलान् भनेर आमा त्यसरी पुस्तकहरू लुकाएर राख्नुहुन्थ्यो। ती पुस्तकहरू बढी जसो हिन्दी भाषाका ‘उपन्यास’ र ‘कहानियाँ’ लेखिएका पुस्तकहरू हुन्थे। आमा दिनभरिको फुर्सदमा ओछ्यानमा ढल्केर पढिरहनुहुन्थ्यो। आमाका आँखा छलेर म ती पुस्तकहरू पढ्ने गर्थेँ। प्रसिद्ध हिन्दी उपन्यास ‘निर्मला’ ‘कटी पतङ्ग’ त्यस्तै नेपाली भाषाका ‘सीमा’ ‘सिम्मा’ मैले त्यसै गरी पढेकी हुँ। हामी घरमा रेडियो खूब सुन्थ्यौँ । पछिसम्म पनि आमा र म रेडियोका साहित्यिक कार्यक्रम सँगै बसेर सुन्थ्यौँ । स्कुलीय पढाइको अन्त्यतिर आइपुग्दा मैले रेडियोका कार्यक्रमहरूमा कथा, गीतिकथा, कविता पठाउन थालेँ ।
कविता उत्कृप्ट भएर पुरस्कार पनि आइपुगेको थियो। कथा र गीतिकथा सुनेर आमा निकै खुशी हुनुभयो। यसै गरी लेखिरहनू भनेर हौसला दिनुभयो। यसरी आमाबाट मैले लेखनको प्रेरणा पाएकी हुँ। कवितामा छन्दप्रति मेरो लगाव स्नातक पढ्दाखेरि बढेको हो। छन्दसम्बन्धी सामान्य जानकारी पढ्दा छन्दामा कविता लेख्नुको मजा नै बेग्लै जस्तो लाग्थ्यो। जबकि उबेला छन्द कविता उति धेरै चर्चामा थिएन । पछि त छन्दको लहर नै आयो र यसले मजस्ता छन्दमा रुचि लिनेलाई सहज बनाइदियो। पछि त फेसबुक पनि आयो। मन लागेको छन्दमा लेखेर कविता टाँसेपछि प्रतिक्रियाहरू आउन थाले। प्रतिक्रियाहरूले मलाई हौसला प्रदान गरे। अब त धेरै जसो कविता छन्दमा नै लेखूँ जस्तो लाग्छ।
३. तपाईंको छन्द कविता स्वेच्छा कि प्रवृत्ति पनि? वास्तमा मञ्जु मञ्जुभाषिणी कवि कि कथाकार?
– जसले पनि कविता लेख्ने त स्वेच्छाले नै हो किनकि करले कोही पनि कवि बन्न सक्तैन । यति भए पनि स्वेच्छाले लेख्छु भन्दैमा पनि कुनै व्यक्ति कवि बन्न सक्ने पनि होइन, किनकि कवि बन्नका लागि व्यक्तिमा प्रतिभा, व्युत्पत्ति र अभ्यासको आवश्यकता पर्दछ । झन् छन्द कविताका लागि त धेरै नै साधनाको आवश्यकता पर्दछ। वर्ण सङ्ख्या, गण, यतिजस्ता कुराहरूका साथै भाव, विषय, बिम्ब, शिल्प शैलीका कुरामा कुरामा निकै ध्यान पुर्याउनुपर्छ। तसर्थः एउटा कवि स्वेच्छा वा प्रवृत्तिभन्दा पनि छन्दसम्बन्धी ज्ञान र ज्ञानको प्रयोग गर्नमा कत्तिको तल्लीन छ कुरो त्यसैमा भर पर्छ। रह्यो कुरो मञ्जु मझ्जुभाषिणी कवि कि कथाकार भन्ने कुराको! हेर्नुस्, मैले कथा, कविता, समसामयिक लेख, निबन्ध, गजल, मुक्तकका साथै उपन्यासमा समेत रुचि लिएर कलम चलाएकी छु। मलाई आफ्ना सबै सिर्जनाको उत्तिकै माया लाग्छ। अतः मञ्जु मञ्जुभाषिणी यो चाहिँ हो नभनेर कवि, कथाकार के हो भन्ने कुरो म पाठकहरूकै जिम्मामा छोड्न चाहन्छु।
४. यो देशमा तपाईंजस्ता सशक्त नारी प्रतिभाहरू सयौं हुनुहुन्छ। नारी भएका नाताले साहित्यमा रहने दृष्टिकोण, परिवेश र राजनीतिले केही फरक पार्छ?
– हुन त विभिन्न किसिमका विभेदहरूसँगै लैङ्गिक विभेद पनि हाम्रो देशमा अद्यापि छँदैछ। साहित्यको क्षेत्र भनेको यी सबै विभेदरूपी अन्धकारलाई हटाउनमा सशक्त भूमिका निर्वाह गर्ने क्षेत्र हो । एउटै विषयसम्बन्धी सबैको फरक-फरक दृष्टिकोण रहन सक्छ । आफूले जुन कुरा सोचेर विचार प्रवाह गरिन्छ अर्कोले सोही अर्थमा ग्रहण गर्नै पर्छ भन्ने छैन । नारी भएकै नाताले साहित्यको क्षेत्रबाट दृष्टिकोण, परिवेश वा राजनीतिका कारण नारी प्रतिभाले अप्ठ्यारो झेल्नु पर्यो भने त देशका लागि ठूलो दुर्भाग्य बन्न जानेछ।
५. कथा र कविता दुवैमा कलम चलाउनुहुन्छ। यिनीहरूका बीचको अन्तर के हाे जस्तो लाग्छ?
– साहित्यका कथा र कविता दुवै विधामा सर्जकले बडो सजगता अपनाउनु आवश्यक छ। हुन त कसैलाई कथा लेखनभन्दा कविता लेखन सहज लाग्छ। कसैलाई कविता लेखनभन्दा कथा लेखन सहज लाग्न सक्छ तथापि कथा र कविता दुवैमा तत्वगत आधारमै भिन्नता छ; जस्तो कि कथामा कथानक, चरित्रचित्रण, परिवेश, कथन पद्धति, भाषा शैली, उद्देश्य, दृष्टिबिन्दु, शीर्षक जस्ता तत्वहरू रहन्छन् भने कवितामा
शीर्षक, संरचना, लयविधान, भाषाशैली, कथनपद्धति, केन्द्रीय कथ्य/भाव विधान, बिम्ब विधान र अलङ्कार विधान तथा व्यञ्जनाजस्ता तत्वहरू रहन्छन्। यी कुराहरूलाई विचार गर्दा पनि तुलनात्मक रूपमा कथा लेखनभन्दा कविता लेखनमा बढी गम्भीरताको आवश्यकता पर्छ। कथा र कविता दुवै विधामा कलम चलाउँदा मैले पनि कथाका तुलनामा कविताका लागि निकै समय खर्चिएको अनुभव मसँग छ।
६. महिलालाई घर परिवारकै पीर बढी हुनाले सबैको साहित्यमा उपस्थित हुन सकिरहेका छैनन्। तपाईंलाई परिवारको प्रतिक्रिया कस्तो छ?
– नारीमाथि पारिवारिक जिम्मेवारी बढी हुने भएकोले समय निकाल्न निकै गाह्रो हुन्छ। बाहिरका काममा पनि उत्तिकै व्यस्तता छ। यस अवस्थामा परिवारको सहयोग र समर्थनबिना यस क्षेत्रमा लागी पर्न असहज मात्र होइन असम्भव प्रायः हुन्छ।  मेरो परिवार मेरो लेखनप्रति अत्यन्त सकारात्मक, सहयोगी र मेरो रचनाको पहिलो पाठकको रूपमासमेत रहेको छ। मेरा श्रीमान् पनि यस क्षेत्रमा रुचिका साथ फुर्सदका बेला कलम चलाउनुहुन्छ। उहाँबाट मलाई भरपूर सहयोग र समर्थन मिलेको छ।
७. कथा/कविता लेखेर कत्तिको सफलता पाइएको अनुभूत हुन्छ? साहित्य साधना गर्नेहरूको र अरूको जीवनमा खाश फरक केही छ?
– म कर्ममा विश्वास गर्छु फलको आशा गर्दिनँ । सिर्जनाले मलाई आत्मसन्तुष्टि प्रदान गर्छ। सबैको आ-आफ्नै किसिमको जीवन शैली हुन्छ। लेखूँ भन्दैमा सबैले लेख्न सक्ने पनि होइन । तसर्थः लेख्ने न नलेख्नेहरूको फरक खुट्टयाइरहनु उचित नहोला।
साहित्यको हरेक विधामा कलम चलाउने क्रममा हुन सक्छ कुनै अन्य विधालाई कम समय दिउँला तथापि छन्द कविताप्रतिको साधनालाई टुट्न नदिने आफूप्रति विश्वास राख्दछु। 
८. कथा लेख्नेहरूको उपन्यास, कविता लेख्नेहरूको महाकाव्य मोह वा सपना हुन्छ। आगामी जीवनमा साहित्यका शृङ्खला कस्ता हुनेछन्?
– मैले मेरो ‘बालुवाको घर’ कथासङ्ग्रह प्रकाशित गरेपछि एउटा उपन्यास नै लेखेकी हुँ ।छन्दप्रतिको लगावले गर्दा उपन्यास पछि प्रकाशित गर्ने निर्णय गरेर छन्दोबद्ध कवितासङ्ग्रह ‘माटोको सुवास’ ल्याएँ । समयले साथ दिएको खण्डमा सो उपन्यास चाँडै आउनेछ। बन्दाबन्दीको उकुसमुकुसमा रहँदा मैले एउटा खण्डकाव्यको पाण्डुलिपि तयार पारेकी छु  । यसलाई पनि बाहिर ल्याउनका लागि आवश्यक प्रक्रिया सुरु गर्ने पक्षमा छु । महाकाव्यको पनि सोच नपलाएको होइन । समयले साथ दिएमा असम्भव नहोला भन्ने लागेको छ।
९. छन्द कवितालाई मन नपराउनेहरू र साहित्यसँग नजीक हुन नसकेका नारी हृदयहरूले मञ्जुभाषिणीबाट के सिक्ने?
–  आजको नेपाली साहित्य जगतमा छन्दकविता मन नपराउने जमात छ जस्तो मलाई लाग्दैन । छन्दमा कविता नलेख्नेहरूले पनि छन्दोबद्ध कविता वाचन गरेर सामाजिक सञ्जालहरूमा भिडियो सार्वजनिक गरिनु यस कुराको बलियो प्रमाण हो । छन्दमा कविता लेख्न निकै साधनाको आवश्यकता पर्दछ ।
छन्दमा गण, गति, यति, अक्षर, मात्रा, लघु-गुरुजस्ता नियमहरूले बडा सिद्धहस्त कविहरूलाई पनि अल्मल्याउन सक्छन् । छन्दका पाउहरूलाई मिलाएर सार्थक भाव अभिव्यक्त गर्ने काम निकै कठिन छ । यिनै कारणहरूले गर्दा छन्द कवितामा सबैले कलम चलाउन सक्तैनन् । तर ‘जहाँ इच्छा त्यहाँ उपाय’ रहर हुनेले सकिँदैन भनेर पछाडि नहट्नुहोस् । आउनुहोस्, साधना गरौँ भन्न चाहन्छु । जहाँसम्म मेरो छन्दप्रतिको लगाव छ, साहित्यको हरेक विधामा कलम चलाउने क्रममा हुन सक्छ कुनै अन्य विधालाई कम समय दिउँला तथापि छन्द कविताप्रतिको साधनालाई टुट्न नदिने आफूप्रति विश्वास राख्दछु।
मञ्जु मञ्जुभाषिणी नेपाली साहित्य भनेपछि हुरुक्कै हुने एक पाठक हो र साहित्यरूपी बगैँचामा केही अक्षररूपी फूलहरू थपूँ भन्ने मेरो चाहना हो । मलाई मेरा प्रिय पाठकहरूले यसरी नै बुझिदिनुभए पुग्छ तर छन्दमा कविता लेख्ने कविका रूपमा धेरैले मलाई चिनेर धेरै जसो नूतन तथा समकालीन छन्दप्रेमी मित्रहरू सामाजिक सञ्जाल तथा फोन सम्पर्कमार्फत् उहाँहरूद्वारा लेखिएका कवितामा रहेका छन्दसम्बन्धी समस्याको समाधान खोज्न सम्पर्कमा आउनुहुन्छ ।मेरा लागि यो अत्यन्त ऊर्जा प्रदान गर्ने खुशीको कुरो हो। साहित्यतिर प्रोत्साहन नपाइरहेका नारीहरूलाई म यस क्षेत्रमा हार्दिक स्वागत गर्दछु। आफ्नो प्रतिभा लुकाएर बस्न बाध्य हुने समय होइन यो । आउनुहोस् सँगै कलम चलाऔँ ।
१०. मैले उठान गर्न छुटाएका र तपाईंले भन्नुपर्ने कुनै प्रसङ्ग छन् कि?
– साहित्यको क्षेत्र भनेको हरेक क्षेत्रमा देखा परेका विकृति विसङ्गतिहरूलाई हटाउनमा सशक्त भूमिका निर्वाह गर्ने क्षेत्र पनि हो । यस क्षेत्रमा कुनै पनि किसिमको विकृतिको दुर्गन्ध भित्रिन नदिनका लागि सम्पूर्ण कलमप्रेमीहरू सजग रहनुपर्छ।
—–