चिनीको आयात ह्वात्तै बढ्यो, दुई महिनामै भित्रियो चार महिनालाई पुग्ने चिनी

९ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज ९

चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भाद्रमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो आयात भएको भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांकका अनुसार साउन र भदौमा मात्रै सो परिमाणमा चिनी नेपाल भित्रिएको थियो । गत वर्षको यहि अवधिमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपनि यो वर्ष भने चिनीको अायात ह्वात्तै बढेको छ ।

भन्सार कार्यालयको तथ्यांक अनुसार यो चिनी झण्डै चार महिनालाई पुग्ने देखिन्छ । नेपालमा वार्षिक २२ करोड ६७ लाख किलो चिनी खपत हुने गरेको छ ।

नेपालमा उत्पादित चिनीको स्टक सकिएपछि चिनीको आयात बढेको हो । अर्थमन्त्रालयले समयमै सहुलियतको चिनी खरिद गर्ने सहमति नदिँदा बजारमा अहिले सहुलियतको चिनीको हाहाकार छ । चिनी सकिएपछि बजारमा अहिले चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ हाराहारी पुगेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेडिङ मार्फत् ७२ रुपैयाँ किलोमा चिनी बिक्री गर्दै अाएको थिय‍ो ।

लामो समयलाई मौज्दात हुनेगरी चिनीको आयात हुँदा स्वदेशी चिनी नबिक्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ । नेपालमा वार्षिक एक लाख ७० हजार मेट्रिकटनको हाराहारीमा मात्रै चिनी उत्पादन हुने गरेको छ ।