नक्कली रूपैयाँ दिई लाखाैँकाे सुन किन्ने गिराेह पक्राउ

९ आश्विन २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर । असाेज ९

ललितपुर जिल्लाको ताल्छीखेलमा रहेकाे जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा नक्कली नोट दिएर सुन खरिद गर्ने २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

पक्राउ परेका अभियुक्तहरूमा काठमाडौं महानगरपालिका २१ टेकु घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै अाएका इक्युज तुलाधर र काठमाडौं महानगरपालिका २७ ज्याठामा बस्ने २७ वर्षीय अजय महर्जन रहेकाे प्रहरीले जनाएकाे छ। उनीहरु दुवै जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा ललितपुरले सार्वजनिक गरेको हाे ।

दुवै जनामाथि ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुरमा असोज ८ गतेदेखि लागू हुने ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले बताएकाे छ । अभियुक्तहरूका साथबाट प्रिन्ट गर्ने मेसिन एक थान, सिपियु १ थान, ल्यापटप १ थान, रु १ हजार दरका ४६५ थान नक्कली नोट, ३७ थान सक्कली नोट ३७ थान, सुनको रानीहार १ थान, तिलहरी १ थान, औंठी १ थान र २ थान मोबाइल गरीएकाे पनि प्रहरीले बताएकाे छ ।

गत असोज १ गते उक्त सुुन पसलबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । तर सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालकाअनुसार सुन किन्न आएका उनीहरुले ५ लाख रुपैयाँ दिएर तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेकाे बताएका थिए ।

पैसाको बण्डलको अगाडि र पछाडि सक्क्ली नोट राखी बीचमा  भने नक्कली नोट राखेर हतारमा खरीद गरी उनीहरु १७ मिनेटमै पसलबाट बाहिरिका थिए ।