एसिड प्रहार गर्नेलाई अब २० बर्ष कैद हुने अध्यादेश मन्त्रीपरिषदबाट पारित

९ आश्विन २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर । असाेज ९

नेपाल सरकारले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने गरी कानुन ल्याउने भएकाे छ । विशेष अध्यादेशमार्फत् कानुन नै संशोधन गरी एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीकाे सबैतिर माग उठेपछि सरकारले २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गर्न लागेको हाे ।

आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको छ । अब साे अध्यादेश  राष्ट्रपतिबाट जारी गरिएपछि कानुन संशाेधन गरिन्छ र लागू हुनेछ ।

अध्यादेशमा भनिएकाे छ- आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।

साथै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाखसम्म जरिवाना हुनेछ । सरकारले एसिड पीडितको निःशुल्क उपचार तथा रोजगारको समेत व्यवस्था गर्ने भएको छ ।

यसअघि नै सरकारले एसिड पीडितको निःशुल्क उपचार हुने बताइसकेकाेमा उपचारका क्रममा लाग्ने औषधि र आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च पनि सरकारले नै बेहाेर्ने निर्णय भइसकेकाे छ । यसको संयोजन स्वास्थ्य मन्त्रालयबाट हुनेछ ।

त्यस्ते राेजगारीका लागि उद्याेग मन्त्रालयले समन्व गर्ने र कृषि गर्ने मनसाय भएकालाइ कृषि मन्त्रालयले निशुल्क कर्जाकाे व्यवस्था पनि गर्ने उल्लेख छ । नेपालमा बार्षिक सयभन्दा धेरै एसिडका घटना हुने गरेका छन् । यससम्बन्धी विस्तृत समाचार उज्यालाेमा प्रकाशित छ ।