
विराटनगर । असोज १०
विगतका तीनवर्षदेखि जहिलै ऋणात्मक रहेको देशको चालू खाता पहिलो पटक नाफामा अाएको छ । विदेशबाट मुलुक भित्रने रेमिट्यान्स र पेन्सन रकम बढेसँगै करिब तीन वर्षपछि पहिलोपटक मुलुकको चालू खाता धनात्मक भएको छ ।
वस्तु तथा सेवाको आयात–निर्यात, रेमिट्यान्स, पेन्सन, अनुदान लगायत चालू खातामा हेरिएको हुन्छ । उच्चदरमा अायात घटेको तथा रेमिट्यान्स र पेन्सन रकम भित्रिने दर बढेसँगै चालू खाता नाफामा अाएको राष्ट्र बैंकले जनाएको छ।
गत वर्षको साउनमा ७५ अर्ब ४० करोड मात्र रेमिट्यान्स भित्रिएकोमा यो वर्षको पहिलो महिनामा नै ९२ अर्ब ७१ करोड पुगेको छ ।
त्यस्तै अायातमा यो आ. वर्षको पहिलो महिनामा ८५ अर्ब ८१ करोडमा सीमित भएको छ जबकि गत सालको साउनमा मात्रै १ खर्ब ६ अर्ब ७२ करोडको आयात भएको तथ्यांक रहेको छ । यो गत वर्षको भन्दा २० प्रतिशत कम अायात हो ।
गत वर्ष भन्दा यो वर्ष पेन्सन आप्रवाह ३८ करोडले बढेर ५ अर्ब ६० करोड पुगेको छ । गत वर्षको पहिलो महिनामा ५ अर्ब २२ करोड मात्र पेन्सन अाप्रवाह भएको तथ्यांकले देखाएको छ ।