कानुन र कर्मचारीको अभावमा रेल ईनर्वा स्टेसनमा अड्किरहे

१० आश्विन २०७७, शनिबार

विराटनगर । असोज १०

तामझामसाथ असोज २ गते ल्याइएका रेल नेपाल–भारत सीमा क्षेत्रको इनर्वा स्टेसनमा पालले ढाकेर राखिएका छन् । नेपालमा रेल सुरु भयो अब दैनिक रेलसेवा सुचारु हुन्छ भनेर मख्ख रहेका नेपाली जनताहरु फेरि खिस्स परेका छन् ।

रेल सम्बन्धि कानुन र कर्मचारी नहुदाँ रेल कहिलेदेखि चल्छन् भन्ने टुंगो पनि छैन । रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले नेपाली र भारतीय कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको र एक महिनाभित्र कर्मचारी टुंगो लगाइसकिने बताएका छन् ।

कानुन र कर्मचारीको व्यवस्था भइसकेपछि पनि कोरोनाको जोखिम कायमै रहे रेल सञ्चालन मिति पछि सर्न सक्ने महाप्रबन्धक भट्टराईले बताएका छन् ।

गत फागुन ९ गते १५ दिन समय दिएर करारमा प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन खुलाए पनि नेपालबाट एक जनाको पनि आवेदन परेको थिएन ।

कानुन र कर्मचारीको अभावमा रेल सञ्चालन अनिश्चित भएपछि तयार रेल नेपालमै राख्दा असुरक्षित हुने भन्दै भारतको जयनगरस्थित नेपालको स्टेसनमा लगिएको थियो तर पछि पुनः फर्काएर सशस्त्र बेस क्याम्पको छेउमा इनर्वा स्टेसनमा राखिएको छ ।

‘कोंकण रेलवे कर्पोरेसनले रेल बनाएर दिएको हो,’ कम्पनीका महाप्रबन्धक भट्टराईले भने, ‘कोभिडको समस्या रहुन्जेल जयनगरमै रेल राख्ने कुरा थियो । तर हाम्रो सम्पत्तिको कति ख्याल होला/नहोला भनेर फर्काएका हौं ।’

महाप्रबन्धक भट्टराईका अनुसार रेल सञ्चालन सम्बन्धि विधेयक भने गत पुसमै राष्ट्रिय सभामा पेस भएर त्यहाँको विधायन समितिमा छलफलका क्रममा रहेको छ । अहिले संसद् नचलेको अवस्थामा रेल सञ्चालन सम्बन्धि कानुन अाइहाल्ने अवस्था भने छैन ।

त्यस्तै रेल सञ्चालनका लागि २ सय २६ जना कर्मचारीको दरबन्दी मन्त्रिपरिषद्ले पारित गरिसकेको र रेल सञ्चालनका लागि दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसके श्रम ऐन ०७४ को दफा, २२ बमोजिम २६ जना विदेशी दक्ष श्रमिक नियुक्त गर्न रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको थियो ।

तर अहिलेसम्म न त रेल सम्बन्धि कानुन बन्न सक्यो न त कर्मचारी नै नियुक्त हुन सके । कानुन र कर्मचारीको व्यवस्थापन गरेर जतिसक्दो छिटो रेल सञ्चालनमा ल्याउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।