चीनले ६१ करोड कोरोना भाइरस विरुद्धको खोप वर्षको अन्त्यमा उत्पादन गर्ने

१० आश्विन २०७७, शनिबार

 

विराटनगर । असोज १०

विश्वभरका प्राय: देशहरू कोरोना भाइरस विरुद्धको खोप बनाउन लागि परेको अवस्थामा चीनले भने २०२० को अन्त्यसम्ममा कम्तीमा ६१ करोड खोप उत्पादन गर्ने दाबी गरेको छ ।

खोप आम जनताको पहुँचका लागि सस्तो हुने दाबी चिनियाँ स्वास्थ्य अधिकारीहरूले गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग चिनियाँ अधिकारीहरुले यो वर्षको अन्त्यसम्ममा करिब ६१ करोड कोरोना विरुद्धको खोप उत्पादन गर्ने विश्वास राखेको बताएका छन् ।

विश्व भरमा परिक्षणको अन्तिम अवस्थामा रहेका विभिन्न ९ खोप मध्ये चीनद्वारा उत्पादित विभिन्न चारवटा कोरोनाभाइरस विरुद्धको खोप परिक्षणको अन्तिम अवस्थामा छन् ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वु युआनबिनले चीन कोरोना भाइरस विरुद्धको खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा रहेको बताएका छन् ।

उनका अनुसार क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा भएको र खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया नदेखिएको बताएका छन् ।

गत जुलाईदेखि नै खोपको परीक्षण गरिरहेको र खोप परीक्षणमा विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको चीनले दाबी गरेको छ ।

खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले बताएका छन् ।