युक्रेनी सैन्य विमान दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु

१० आश्विन २०७७, शनिबार

एजेन्सी। असोज १०

युक्रेनमा भएको सैन्य विमान दुर्घटनामा परेर कम्तिमा २२ जनाको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् भने तीन जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएको छ ।

एन्तोनोव–२६ नामको विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा पर्दा ठूलो मानवीय क्षति भएको हो । दुर्घटनामा परेर ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको जनाइएको छ । दुर्घटनामा परेर विमानमा पनि पूर्ण रुपमा क्षति पुगेको छ ।

खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो । विमानमा २७ जना सवार रहेको जनाइएको छ ।

दुर्घटनाको कारण नखुले पनि युक्रेनको पूर्वी क्षेत्रमा जारी तनाव र दुर्घटनाबीच कुनै सम्बन्ध भने देखिएको छैन । विमान दुर्घटनालाई लिएर अनुसन्धान सुरु गरिएको युक्रेनी अधिकारीले बीबीसीलाई उद्धृत गरि दिएको जानकारीमा उल्लेख छ ।