फोन गर्न रुख चढ्नु पर्ने गाउँको व्यथा

१० आश्विन २०७७, शनिबार
तस्विर : फाइल

विराटनगर । असोज १०

सुन्दा अलिक अफ्ठेरो लागेपनि म्याग्दीका केही क्षेत्रका बासिन्दाहरूमा मोबाइलमा कुरा गर्न घण्टौं हिँडेर छिमेकी गाउँमा पुग्नुपर्ने, डाँडा वा रूख चढ्नु पर्ने जस्तो अफ्ट्यारो परिस्थिति रहेको छ ।

म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ र बगरमा यस्तो समस्या रहेको छ । यो क्षेत्रमा सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेललगायत निजी कम्पनीले मोबाइल सेवा विस्तार नगर्दा यहाँका बासिन्दाहरू सञ्चारबाट टाढा छन् ।

कहीं कतै सुचना लिनु दिनु परेमा वा टाढा रहेका आफन्तसँग कुराकानी गर्नु परेमा टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको रघुगङ्गा गाउँपालिका–८ चौरखानीका चन्द्रमान छन्त्याल गुनासो गर्छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चारको भरपर्दो सुविधा नहुँदा सूचना दिन अझै टोलटोलमा परम्परागत कटुवाल प्रथाको सहारा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताएका छन् ।

जिल्लामा नेपाल टेलिकमका २६ मोबाइल, पाँच ल्याण्डलाइन र चार वाइम्यास गरेर ३५ वटा बिटिएस टावर रहेपनि विद्युत् सुविधा नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरेर सञ्चालित टावरले घाम लाग्दामात्रै चल्ने र हावाहुरी, चट्याङ,वर्षात्को समयमा अवरुद्ध हुने गरेको छ ।

सञ्चार सेवा भरपर्दो नहुँदा स्थानीय तह, वडा, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह र काम कारवाहीमा कठिनाइ भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएको छन् ।