विराटनगर महानगरपालिकाले गर्यो कक्षा ११ को परीक्षा तालिका सार्वजनिक 

११ आश्विन २०७७, आईतवार

 

विराटनगर । असोज ११

कोरोना भाइरसका कारण रोकिएको कक्षा ११ को परीक्षा विद्यालयलाई नै गर्न दिएपछि विराटनगर महानगरपालिकाले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

असोज २५ देखि परीक्षा सञ्चालन गर्ने गरेर तालिका सार्वजनिक गरेको महानगरका शिक्षा प्रमुख  दुर्गाप्रसाद खतिवडा बताएका छन् ।उनले सरकारले कक्षा ११ को परीक्षा गर्न विद्यालयलाई नै जिम्मा दिएपछि महानगरका विद्यालयहरुका लागि तालिका सार्वजनिक गरिएको बताएका छन् ।

महानगरले प्रदेश बोर्ड, जिल्ला समन्वय समिति, शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्था र विद्यालयहरुसँग सहकार्य गरेर परीक्षा तालिका सार्वजनिक गरेको बताएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यालयले आफ्नो सहजता हेरेर परीक्षा लिन सक्ने बताएका छन् ।

बजार व्यवसायहरु पनि खुलेको अवस्थामा विद्यार्थीलाई अल्झाएर राख्न नमिल्ने भन्दै महानगरले दुरी कायम गरेर परीक्षा गर्न तालिका सार्वजनिक गरेको हो ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले भौतिक रुपमै उपस्थित भएर परीक्षा गर्न जोखिम रहेको विद्यार्थी र अभिभावकले भने गुनासो गरेका छन् ।