४० अौं अन्तर्राष्ट्रिय पर्यटन दिवस अाज

११ आश्विन २०७७, आईतवार

 

विराटनगर । असोज ११

नेपालमा अाज ‘पर्यटन र ग्रामिण विकास’को नारासहित ४० अौं अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइँदै छ। 

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने पर्यटन दिवस सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सन् १९८० देखि मनाउन थालिएको हो।

नेपाल सरकारले ‘पर्यटनका लागि हाम्रो देश, घुमौँ देश, चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ पर्यटन पुनरुत्थान अभियान समेत सुरु गरेको छ। 

नेपालको अर्थतन्त्रको ठूलो हिस्सा बोकेको पर्यटन क्षेत्रमा थप विकासका लागि सरकारले संघ, प्रदेश र पालिकाबीच सहकार्य, समन्वय एवं साझेदारी मार्फत पूर्वाधार तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्न साझेदारी कार्यक्रम कार्यविधि २०७७ कार्यान्वयनमा ल्याएको छ।

पर्यटन दिवसका अवसरमा शुभकामना दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर गरे पनि महामारी नियन्त्रणमा आएपछि नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन्।

नारायणहिटी क्षेत्रमा निर्मित गणतन्त्र पार्कमा पर्यटन दिवस सम्बन्धी विशेष कार्यक्रम अायोजना गरिएको छ ।