विराटनगर भन्सारबाट ४ महिनामा मात्रै ६ अर्ब बढीको सामान निर्यात

११ आश्विन २०७७, आईतवार
रानी भन्सार । विराटनगर । तस्वीर फाइल ।

 

विराटनगर । असोज ११

विराटनगर भन्सारबाट चैतदेखि असार सम्मको चार महिनामा मात्रै ६ अर्ब १४ करोड नेपाली रुपैयाँ बराबरको सामान भारत निर्यात भएको छ । देशमा जारी भएको १ सय २१ दिने लकडाउन अवधिमा नै सो बराबरको नेपाली उत्पादन विराटनगर भन्सारबाट भारत निकासी भएको हो ।

विराटनगर भन्सारबाट प्रशोधित पाम तेल, सेन्थेटिक यार्न, भटमासको तेल, जुटको कपडा, जि.आई.वायर, सनपाटको धागो, फलामे पाता, खयर कत्था र चाउचाउ तथा नुडल्स लगायतका ९० बढी नेपाली उत्पादनहरु भारत निकासी भएका हुन् । गत चैत ११ देखि साउन ६ सम्म भएको लकडाउन अवधिमा मात्रै निकासी भएका नेपाली उत्पादनहरुको कुल मुल्य ६ अर्ब १४ करोड १ लाख ४६ हजार ६ सय ५ रुपैयाँ रहेको छ ।

चैत्रमा ८९ करोड ६ लाख, वैशाखमा १ अर्ब ३२ करोड ८५ लाख, जेठमा २ अर्ब ४ करोड ४५ लाख, असारमा २ अर्ब ६७ करोड ७३ लाख रुपैयाँ मुल्य बराबरको विभिन्न उत्पादनहरु निकासी भएको विराटनगर भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०७६/७७ मा विराटनगर भन्सारबाट कुल २८ अर्ब ५१ करोड ३१ लाख २० हजार ६ सय ७९ रुपैयाँ मुल्यको सामान निकासी भएको छ ।

अघिल्लो अार्थिक वर्षको सोही अवधिमा विराटनगर भन्सारबाट ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ मुल्य बराबरको मात्र नेपाली उत्पादनहरु भारत निकासी भएकोमा अहिलेको लकडाउनको परिस्थितिमा पनि यो वर्ष भने निकासी भएको सामानको मुल्यमा वृद्धि भएको हो ।