‘हंस’ लाई पद्मश्री २०७६

११ आश्विन २०७७, आईतवार

विराटनगर । असोज ११

२०७६ सालको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाउने भएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको उपन्यास ‘हंस’ लाई दिने निर्णय गरिएको जनाएको हो ।

त्यस्तै प्रतिष्ठानले यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको छ । विगत ६ दशकदेखि अनवरत रुपमा नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार प्रश्रितलाई दिने निर्णय प्रतिष्ठानले गरेको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी समान तीन लाख रुपैयाँ छ । वि.सं २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै अाएको छ भने २०६७ सालदेखि पद्मश्री साधना सम्मान दिदै अाएको छ।

प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ भने साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएको पुरस्कार र सम्मान यो वर्ष विषम परिस्थितिका कारण अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।