विराटनगर कोरोनाको हटस्पट बन्दै, महानगरभित्रै २ हजार बढी कोरोना संक्रमित

११ आश्विन २०७७, आईतवार

विराटनगर। असोज ११

मोरङको विराटनगर महानगरपालिका अहिले पूर्वाञ्चल क्षेत्रकै कोरोना संक्रमणबाट बढी प्रभावित स्थल बनेको छ। महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शनिबारसम्म २ हजार ५६ जना पुगेका छन्।

विराटनगरका कूल संक्रमितमध्ये ९ सय ३ जना होम आइसोलेसनमा बसेका छन् भने ५ सय ८४ जना संक्रमणबाट मुक्त भएका छन्।

विराटनगर महानगरका २० जनाले ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमणका लागि अहोरात्र खट्ने सुरक्षाकर्मी, चिकित्सक तथा कर्मचारीमा संक्रमण बढ्न थालेपछि चिन्ता बढ्दै जान थालेको छ।

निषेधाज्ञा हटेपछि बजार, पसल, यातायात तथा कार्यालय। रूमा भीड बढ्दै जानाले पनि संक्रमण बढेको हो। विराटनगरभित्र करीब १२१ जना स्वास्थ्यकर्मी संक्रमित बनेको महानगरको तथ्याङ्क छ।

महानगरका ८ जना, कोशी अस्पतालका ३१ जना, विराटनगर अस्पतालका ९ जना, न्यूरोका २० जना, नोबेलका ३६ जना छन् भने मोरङ सहकारी अस्पतालका ७ जना छन्।

महानगरको तथ्याङ्क अनुसार गोल्डेन अस्पतालमा ३ जना र विराट मेडिकल कलेजका १६ जना स्वास्थ्यकर्मी थप भएका छन्।

आइतबारसम्म प्रदेशमा ६ हजार २५४ संक्रमणमध्ये एक तिहाई बराबर विराटनगरमा देखिनुले थप जोखिम रहेको देखिए पनि सरोकारवाला तथा सर्वसाधारणमा यसको उत्ति ख्याल रहेको देखिन्नँ। यसबाट अवस्था भयावह बन्ने हो कि भन्ने आँकलन गर्न सकिन्छ।