
बझाङ मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ।
कामीको बलात्कारपछि हत्यामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोरासँगको अनुसन्धानबाट प्रहरीले अर्को बलात्कार घटनाको तथ्य फेला पारेको हो।
सम्झनाको बलात्कारपछि हत्यामा संलग्न मष्टा-२ कै १८ वर्षीय युवा राजेन्द्र पक्राउ परेका थिए। उनी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा छन्।
सम्झनाको बलात्कार र हत्याको अनुसन्धान भइरहँदा राजेन्द्रबाट अर्को बलात्कार भएको पत्ता लागेको प्रहरीले जनाएको छ। घटना साउन २९ गते साँझ ५ बजेको हो। मष्टा-२ कै १४ वर्षीया दमाई थरकी बालिकालाई बोहोराले बलात्कार गरेको अनुसन्धानमा खुलेको छ।
अनुसन्धानअनुसार राजेन्द्रको परिवारले सो ठाउँमा घट्ट चलाउँछ। प्रहरीका अनुसार त्यसदिन घट्टमा राजेन्द्र एक्लै थिए। बालिका पुग्दा उनले घट्टमा बलात्कार गरे।
घट्टमा गहुँ पिस्न गएका बखत राजेन्द्रले बालिकालाई लछारपछार पारेर बलात्कार गरेका थिए। बलात्कारपछि दुवै पक्षबीच छलफल भएको र दुवैले कागज गरेर मिलापत्र गरेको कागज पनि भेटिएको थियो। जुन कागजमा दुबै परिवारको हस्ताक्षरदेखिएको थियो।