विराटनगरमा १३० सहित प्रदेशमा १८१ संक्रमित थप भए

११ आश्विन २०७७, आईतवार

विराटनगर। असोज ११

मोरङको विराटनगरमा एकै दिन १३० सहित प्रदेशमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार अहिलेसम्मकै ठूलो संख्यामा संक्रमण देखिएको हो।

विराटनगरमा ५१ महिला तथा ७९ पुरुषमा संक्रमण भएको हो। त्यस्तै जहदामा २ पुरुष, कटहरीमा ८ महिला ९ पुरुष, धनपालथानमा २ पुरुष, बूढीगङ्गामा ३ महिला ११ पुरुष छन्। स्थानीयता नखुलेका र सुन्दरहरैंचाका १/१ पुरुष पनि थपिएका छन्।

उता सुनसरीको दुहवीमा १ महिला ४ पुरुष छन्। धरान र इटहरीका १/१ पुरुष थप भएका छन्।

झापा बिर्तामोडकी एक महिला, अर्जुनधारा र दमकका १/१ पुरुष छन् भने भोजपुरको स्थानीय तह नखुलेका १/१ महिला र पुरुष छन्।

यसैगरी तेह्रथुम र प्रदेश बाहिरका १/१ पुरुष पनि रहेका छन्।

आइतबार प्रदेशभर ९६७ जनाको पिसीआर परीक्षण गरिएको छ भने हालसम्म १ लाख २० हजार ९९० जनाको परीक्षण भएको छ।

प्रदेश भरबाट ९ महिला र २७ पुरुष गरी ३६ जना कोरोना मुक्त भएका छन्। आइतबार झापाका एक पुरुषको मृत्यु भएको छ भने हालसम्म ६३ ले ज्यान गुमाइसकेका छन्।

कोरोनाको प्रदेशभरमा सबैभन्दा बढी विराटनगरमा प्रभाव देखिएको छ। हालसम्म २२ सयभन्दा बढी विराटनगरमा मात्र पुगेका छन्।