बेलबारीका हत्या अारोपित मध्ये पाँच जनालाई थुनामा राख्न अदालतको अादेश

११ आश्विन २०७७, आईतवार

विराटनगर । असोज ११

जिल्ला अदालत मोरङले बेलबारी-५ कसेनीका चन्द्रप्रसाद राईको हत्या अारोपमा पक्राउ परेका सात जना मध्ये पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न अादेश दिएको छ ।

त्यस्तै शुक्रबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका सातमध्ये दुई जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

१२ भदौमा लोहन्द्रा खोलामा लगाएको बाँसको पुलमा पैसा उठाउने विषयमा विवाद हुँदा छुट्टाउन गएका राईको हत्या र उनका आफन्तमाथि आक्रमण गरेको आरोपमा १९ जनाविरुद्ध ‘कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता भएको थियो ।

घटनामा मृतक राईका ४२ वर्षीय दाजु सईकुमार राई, ३२ वर्षीय भाइ समुन्द्र राई र १६ वर्षीय भतिज गौरव राई समेत घाइते भएका थिए ।

अदालतले हत्या आरोपमा पक्राउ परेकामध्ये जितेन्द्रकुमार चौधरीलाई चारलाख र ञानव थुलुङ राईलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

विनयकुमार सरदार, विशालकुमार खवास गच्छदार, दीपेन्द्र भन्ने दीपेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार खाँ र राजेन्द्र राईलाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिएका छन् ।