बलात्कारीलाई मृत्यृदण्डकाे सजाय कायम गर्न बाबुरामकाे आग्रह

११ आश्विन २०७७, आईतवार
तस्वीर- बाबुरामकाे ट्वीटर

विराटनगर । असाेज ११ 

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरेर कानुन ल्याउनुपर्ने प्रस्ताव गरेका छन्।

जुनसुकै शासन व्यवस्था आए पनि बलात्कार जस्तो जघन्य घटना नरोकिएको भन्दै उनले मृत्युदण्डको सजाय ल्याउन प्रस्ताव गरेका हुन् ।

 

उनले सामाजिक सञ्‍जाल ट्विटरमार्फत् कञ्चनपुरकी निर्मला पन्त र बझाङकी बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको घटना स्मरण गर्दै अब यस्तो अपराधमा संलग्‍नलाई कडा सजाय दिनुपर्ने भन्दै लेखेका छन् ।

उनले लेखेका छन् 'राजतन्त्रकालका नमिता-सुनितादेखि गणतन्त्रकालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसक्यो । अब यसो गरौं, अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी छ। अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गरौं।'