बसको ठक्करबाट एक वर्षे बालक सहित एकै परिवारका तीन जनाको मृत्यु

१२ आश्विन २०७७, सोमबार

विराटनगर । असोज १२

बारामा बसको ठक्करबाट एक वर्षे बालक सहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा-१ स्थित दुधौरामा सिन्धुलीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक वर्षे बालक सहित एकै परिवारका तीनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा परेर स्कुटरमा सवार निजगढ नगरपालिका-१० का तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती स्याङ्तान र उनका १ वर्षीय छोरा अहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनै जनाको शव पोस्टमार्टमका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दीपक श्रेष्ठले बताएका छन् ।