कोशी अस्पतालमा अटोमेटिकल पिसिअार परिक्षण मेसिन सञ्चालनमा

१२ आश्विन २०७७, सोमबार

विराटनगर । असोज १२

विराटनगरको कोशी अस्पतालमा चन्दा संकलन गरेर खरिद गरेको अटोमेटिकल पिसिआर मेसिन १६ दिनपछि अाइतबारबाट सञ्चालनमा आएको छ ।

अस्पतालले दाताहरुबाट सहयोग पाएको दुईवटा पिसिआर मेसिनमध्ये आरएनए एक्स्ट्राक्सन मेसिन पनि अब सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

दाताहरुको ३१ लाख रुपैयाँको सहयोगमा खरिद गरिएको मेसिन भने पहिलेदेखि नै सञ्चालनमा छ । कोशी अस्पतालमा अब तीन वटा मेसिनबाट परीक्षण हुनेछ ।

घण्टामा ९६ वटा स्वाबको नमुना परीक्षण गर्ने अटोमेटिकल मेसिनका लागि छुट्टै कीटको अावश्यकता पर्ने हुँदा एक हजार थान कीट अाएपछि परिक्षण सुरु गरिने अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ट डा.चुमनलाल दासले जानकारी दिएका छन् ।

दाताहरुको करिब ६३ लाख रुपैयाँको सहयोगबाट विराटनगरमा दुई वटा पिसिआर मेसिन खरिद गरिएको थियो । मेसिन अाएपछि अस्पतालले अब दैनिक १ हजार ५ सयसम्म स्वाब परीक्षण गर्न सकिने अवस्था बनेको मेसु दासले जनाएका छन् ।