भागबन्डा मिलाउन तीन मन्त्रालय टुक्राइँदै

१२ आश्विन २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

 

विराटनगर । असोज १२

सत्तारूढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रालयको भागबन्डा नमिलेपछि तीन मन्त्रालय टुक्रयाइने भएको छ। अहिले रहेका २१ मन्त्रालय मध्ये तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी सहमति भएको हो।

मन्त्रीपरिषदमा २५ भन्दा बढी सदस्य बनाउन नपाउने संविधानमा व्यवस्था भएबमोजिम राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास भएको हो ।

अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा मन्त्रालय र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार मन्त्रालय र यातायात तथा रेल मन्त्रालय बनाउने गरी सहमति भएको हो ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको संख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै कुन मन्त्रालय सम्हाल्न कसलाई दिने भन्ने बारेमा समझदारी खोजिनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २५ मन्त्रालय बनाउने गरी दुई अध्यक्षबीच समझदारी बनेको स्रोतको भनाइ छ।नेकपा स्थायी समितिको २६ भदौमा सम्पन्न बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो।