महामारी नटर्दै परीक्षा गर्न लागिएकाे भन्दै विद्यार्थीहरूकाे विराटनगरमा धर्ना

१२ आश्विन २०७७, सोमबार
तस्वीर- हाम्राे मत

विराटनगर । असाेज १२

माेरङकाे विराटनगरका कक्षा ११ का  विद्यार्थीहरूले  महामारी नटरी परीक्षा लिने तयारी भएको भन्दै आन्दोलन गरेका छन् ।  विराटनगरमा काेराेना संक्रमणदर तीव्र गतिमा बढिरहेकाे तर महानगरले भने केही नीजि विद्यालयले उचालेकै भरमा परीक्षाकाे तयारी गरेकाे भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदेशभर कतै पनि परीक्षाकाे कुरामा कुनै याेजना नबनाइएकाे र महामारीबारे सचेत रहेकाे बताउँदै विभिन्न स्कूलबाट भेला भएका विद्यार्थी समूहले महानगरकाे भवन अगाडी दुइ घण्टा धर्ना दिएका थिए । जबरजस्ती शुल्क असुल्ने विद्यालयहरूकाे नियत रहेकाे र काेराेना फैलाउने जाेखिम बढाउन लागिएकाे भन्दै अान्दाेल गरिएकाे एक जना विद्यार्थीले जानकारी दिए ।

नेपाल सरकार स्वयंले माघअघि नै परीक्षा लिने ताकेता गरेपनि हालकाे महामारीका बेला ज्यान जाेखिममा राखी परीक्षा रद्द गर्नुपर्ने विद्यार्थीकाे माग छ ।

शिक्षा मन्त्रालयले तत्काल विद्यालय नखोल्न निर्देशन दिइरहेकाे छ । साे कदमकाे उल्लंघन गर्दै विराटनगर महानगरपालिकाका विद्यालयमा कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्नेगरी कार्यतालिका बनाइसकिएकाे छ । विद्यार्थीबाट कसरी हुन्छ शुल्क लिने नियतले परीक्षा गर्न लागिएकाे विद्यार्थीहरूकाे अाराेप छ ।

भाैतिक उपस्थितिमा परीक्षा दिन नसकिने बरु अनलाइनबाट परीक्षा गराउनुपर्ने उनीहरूकाे माग छ । विराटनगरमा दैनिक सयभन्दा बढी संक्रमितहरू बढिरहेका बेला परीक्षा गराइनाले झन् महामारी बढ्ने उनीहरूकाे तर्क छ ।

विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाका अनुसार राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेकाले साेही अनुरूप महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको हो । उनले भने- महानगरले परीक्षाको समन्वय मात्र गरेको हाे, परीक्षाकै कारण महामारी बढ्छ भन्नु मूर्खता हाे । बजार पसलकतिर देखिने भीडकाे तुलनामा परीक्षा सामान्य रहेकाे उनकाे बुझाइ छ ।