प्रदेश १ को इलाम पनि बन्यो कोरोनामुक्त जिल्ला

१२ आश्विन २०७७, सोमबार
फाइल तस्वीर

विराटनगर। असोज १२

प्रदेश १ को इलाम जिल्ला कोरोना संक्रमण मुक्त बनेको छ। अन्यत्र महामारीको त्रास बढिरहेका बेला इलाम भने संक्रमण रहित बनेको हो।

जिल्लामा जेठको अन्तिम सातादेखि हालसम्म ९३ जना संक्रमित भएका थिए। विभिन्न आइसोलेसनमा उपचारपछि सबै घर फर्किएका र गरिएका नमुना परीक्षणमा कोही फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ।

केही दिन अघिसम्म चुलाचुली गाउँपालिकाका एक पुरुषमा संक्रमण देखिएपनि हाल उनी मुक्त भएका छन्। जिल्लाभर गरिएको ४ हजार ९ सय ७७ पिसीआर परीक्षणमा ९३ जना मात्र संक्रमित भएका थिए।

इलामका प्रायः सबै स्थानीय तहमा पुगिसकेको संक्रमण हाल शून्यमा झरेको र अब पुनः यसबाट मुक्त रहनका लागि सबै सजग रहनुपर्ने स्वास्थ्य कार्यालयको सुझाव छ।