विराटनगरमा गर्न लागिएको कक्षा ११ को परीक्षा तत्काललाई रद्द

१२ आश्विन २०७७, सोमबार

विराटनगर। असोज १२

मोरङको विराटनगरमा दसैं अगावै गर्ने भनिएको कक्षा ११ को परीक्षा तत्काललाई रद्द गरिएको छ । कोरोनाको महामारी कायमै रहेको र यसबाट विद्यार्थी तथा अविभावकहरूमा त्रास कायमै रहेको जिकिर गर्दै परीक्षा रद्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय बैठकले तत्काल परीक्षा गर्नु नहुने औंल्याउँदै परीक्षा स्थगित गर्ने निर्णय भएको हो। प्रजिअ कोषराज निरौलाका अनुसार परीक्षा स्थगित गर्ने निर्णय जिल्ला स्तरीय क्राइसिस मेनेजमेन्टले गर्नेछ।

केही नीजि विद्यालयहरूको लहैलहैमा लागी महानगरले शुल्क उठाउनकै निम्ति परीक्षा गराउने खेल खेलेको भन्दै विद्यार्थीहरूले मंगलबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए।

शिक्षा मन्त्रालयले तत्काल विद्यालय नै खोल्न नहुने आशय व्यक्त गरिरहँदा महानगरले परीक्षा गराउने निर्णय विरुद्ध अविभावकहरूले अदालत जाने आक्रोश व्यक्त गरेका थिए।

सर्वपक्षीय बैठकमा उपस्थित सबैले परीक्षा गर्नु नहुने खालको आशय व्यक्त गरेको र परिवेश पनि विचार्दा सोही निर्णय उपयुक्त देखिएकाले परीक्षा नगराउने निर्णय भएको प्रजिअ निरौलाले हाम्रो विराटनगरलाई बताए।

विराटनगरमा सामुदायिक र नीजि गरी करीब ६० वटाभन्दा बढी विद्यालयका ८ हजारभन्दा बढी विद्यार्थी छन्।