ग्राहकलाई कुटपिट गरी ज्यान लिने होटल सञ्चालक पक्राउ

१३ आश्विन २०७७, मंगलवार
सांकेतिक तस्वीर

विराटनगर। असोज १३

मोरङको उर्लाबारी – ७ मा होटल सञ्चालकले कुटपिट गर्दा ग्राहकको ज्यान गएको छ। युनिक होटलका सञ्चालक २५ बर्षीय गोपाल तामाङ आइतबार राती करीब १२ बजे पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ।

मोरङक प्रहरीका एसपी सन्तोष खड्काका अनुसार राती पत्नी सहित खाजा खान आएका ३५ बर्षीय सुशील मल्लिकसित होटल सञ्चालकको सामान्य विवाद भएको थियो।

मादक पदार्थ सेवन गरी आएका मल्लिकसित विवाद भएपछि तामाङले कुटपिट गरी धकेलिदिएका थिए। धकेल्ने क्रममा लडेर बेहोस भएका मल्लिकको टाउकोमा गंभीर चोट लागेपछि उर्लाबारीकै गोदावरी अस्पतालमा पुर्याइएको थियो।

उर्लाबारीमा उपचार संभव नभएपछि बिर्तामोडको बि एण्ड सी अस्पातल लगिए पनि त्यहाँबाट सिलगुडी रेफर गरियो। भारतको सिलगुडीमा उपचारको क्रममा सोमबार राती मल्लिकको ज्यान गएको प्रहरीले जनाएको छ।

घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका होटल सञ्चालकलाई कर्तव्य ज्यान मुद्धामा कारबाही प्रक्रिया थालिएको प्रहरीले बताएको छ।