विपी र कोशीमा १/१ कोरोना संक्रमितको मृत्यु

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ३९ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका-४ का ती पुरुषको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएका उनलाई गोल्डेनबाट प्रतिष्ठानमा रिफर गरिएको थियो । उनमा असोज ९ गते प्रतिष्ठानमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहका बिरामी उनमा कोरोना संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिएका छन् ।

त्यस्तै मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत जहदा गाउँपालिका-६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताएका छन् ।

कोरोना पोजिटिभ भएसँगै असोज ४ गते उपचार केन्द्रमा भर्ना गरिएका उनमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको सिग्देलले जनाएका छन् । उनलाइ असोज ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको केन्द्रले जनाएको छ ।