विराटनगरको पुरानो होटल ‘होटल नमस्कार’ बन्द

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

विराटनगरको पुरानो होटल ‘होटल नमस्कार’ मंगलबारदेखि बन्द भएको छ ।

४० वर्ष अगाडी वि. सं. २०३७ सालदेखि सञ्चालनमा अाएको होटल बन्द गरेको होटलका सञ्चालक युनेशराज श्रेष्ठले जानकारी दिएका छन् ।

धरानबाट विराटनगर झरेर दाजु युवराजले होटल नमस्कार र भाइ राजन श्रेष्ठले होटल स्वागतम् सुरु गरेका हुन् ।

भाडाको घर-जग्गामा रहेको होटल सधैंका लागि भने बन्द नगरेको श्रेष्ठले बताएका छन् ।

विराटनगरको ट्राफिक चोक दक्षिण १९ कट्ठा जग्गामा सञ्चालन हुँदै आएको होटल रोडशेषचोक दक्षिण अहिले मुख्यमन्त्री कार्यालयसँग टाँसिएको जग्गामा सिफ्ट गर्ने योजनामा बन्द गरिएको सञ्चालक श्रेष्ठले जनाएका छन् ।

भाडाको जग्गामा रहेको पुरानो भवन मर्मत गर्नुपर्ने र यही बेला कोरोना संक्रमणले पर्यटन व्यवसाय बिथोलिएपछि होटल तत्कालका लागि बन्द गर्ने निर्णय लिएको श्रेष्ठले बताएका छन् ।

होटल नमस्कारकै परिसरमा सञ्चालित भ्यालेन्टाइन बेकरी क्याफे भने केही समयमा नै अर्को ठाउँमा सञ्चालन गरिने श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले होटलका कतिपय कर्मचारी, मजदुरलाई बिदा दिईसकेका छन् भने कतिपयलाई कायमै राखेका छन् ।

विराटनगरको पहिलो तारे होटल ‘होटल जेनियल’ पनि असार ११ गतेदेखि होटल बन्द भएको छ । कोरोना संक्रमणका कारण विराटनगरमा होटल व्यवसाय संकटमा परेको व्यवसायीहरूले बताएका छन् ।