मेयरकाे अगुवाइमा भएकाे पीसीआर मेशिन खरिदका लागि संकलित रकमको हिसाब सार्वजनिक

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

नागरिक समाजको अाह्वानमा तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको अग्रसरतामा सहयोग संकलन गरि पीसीआर परीक्षणका लागि परीक्षण मेसिन खरिदको हिसाब बुधबार विराटनगरमा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

सहयोग संकलन कार्यक्रममा नागरिक समाजको तर्फबाट स्वतःस्फुर्तरुपमा प्राप्त सहयोग ७७ लाख ३७ हजार ३५४ रुपैयाँ भएको विज्ञप्तिमा जनाइएको छ ।

कोभिड राहत कोष परिचालन समिति मार्फत परिचालन गरिएको सो रकमबाट एक थान पीसीआर मेसिन र एक थान आरएनए एक्स्ट्रासन मेसिन खरिद गरेको समितिले जनाएको छ ।

पीसीआर मेसिन खरिदमा ३१ लाख ६४ हजार रुपैयाँ र आरएनए एक्स्ट्रासन मेसिन खरिदमा ३१ लाख ९९ हजार ९९९ रुपैयाँ गरेर जम्मा ६३ लाख ६३ हजार ९९९ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक भएको छ ।

बाँकी १३ लाख ७३ हजार ३५४ रुपैयाँ रकम कोषमा रहेको जनाइएको छ ।

महानगरपालिकाका प्रमुखको अग्रसरतामा संचालित सहयोग संकलन कार्यक्रममा विभिन्न क्षेत्रका ४१ जनाले सहयोग गरेका थिए ।

यो कोरोनाको महामारीमा सामाजिक सेवाका लागि सहयोग गर्ने सबैलाई समितिले धन्यवाद ज्ञापन समेत गरेको छ ।