बारामा बालिका बलात्कृत, डेढ लाखमा मिल्न पीडककाे धम्की

१४ आश्विन २०७७, बुधबार
सांकेतिक तस्वीर

विराटनगर । असोज १४

बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकालाई असोज १ गते बेलुका सोही ठाँउका २६ वर्षका शिवपूजन यादवले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको छ ।

बेलुका खाना खान भाईलाइ बोलाउन निस्किएको बेलामा समातेर अर्कैको घरमा लगेर मुखमा अोड्ने कोचिदिएर बलात्कार गरेको बालिकाको भनाई छ । ‘मुखमा ओढ्नी कोचेको थियो तैपनि बल गरेर कराएको सुनेर कृष्ण यादव आयो अनि मेरो हात समातेर शिवपुजनलाई भगाइदियो । त्यसपछि मलाई नै कुट्न थाल्यो’, बालिका भन्छिन्, ‘पछि कृष्णकै कुरा सुनेर आमाबुवाले पनि मलाई कुटे ।’

घटनापछि फरार रहेका शिवपुजन नातामा बालिकाको काका पर्ने व्यक्ति हुन् । यो घटना मिलाउन गाउँमा नै मिलाउन धम्की अाएको परिवारका सदस्य बताउँछन् । डेढ लाख रुपैयाँ लिएर मिल्नू नत्र ठीक हुन्न भन्ने धम्की आएको बालिकाकी अामाले बताएकी छिन् । गाउँका पञ्चहरु रुपैयाँ लिएर चुपचाप बस्नु, गाउँको कुरा गाउँमै रहन्छ भनिरहेको उनले बताएकी छिन् ।

गाउँका कुरा गाउँमै मिलाओ नत्र गोली चल्नसक्छ भनेर धम्की दिइरहेको बालिकाकी अामाले भनिन् ,’हामी रातभरि जागै बस्छौं, तर हामीलाई पैसा हैन, न्याय चाहिन्छ ।’

जिल्ला प्रहरी कार्यालय बारामा असोज ३ गते उजुरी दर्ता भएको छ । बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार अारोपित भारत पसेका छन् । उनलाई पक्राउ गर्न भारततर्फ समन्वय भइरहेको बताएका छन् ।