
विराटनगर । असोज १४
पहिरोका कारण सवारी आवतजावत बन्द भएको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
नेपाल र चीनका अधिकारी बीच मंगलबार मितेरी पुलमा बसेको बैठकले असोज १९ गतेदेखि फेरि नाका खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।
नेपालबाट तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि सवारी अावतजावत र कारोबार शुन्य भएको थियो ।
बैठकमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख लालबहादुर खत्री एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु तथा ल्हासाका अधिकारीहरुले सहभागिता जनाएका थिए ।
बैठकमा चीनतर्फबाट आएका सामान लिपिङ पुलमा ‘अनलोड’ गर्ने भएको छ भने नेपालतर्फका मजदूर तथा चालकले ती सामान ‘लोड’ गरेर ल्याउने सहमति भएको छ । यसका लागि नेपालका तर्फबाट चालक र मजदूर गरी २८ जनाको टोली पिसीआर परीक्षण गरेर तयारी अवस्थामा रहेका छन् । नाकामा खटिने चालक र मजदूरको पाँचपाँच दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।
चिनिँया दूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो।