आइपिएलमा सट्टा-बाजी गरेको आरोपमा विराटनगरका तीन पक्राउ

१४ आश्विन २०७७, बुधबार
तस्वीर- माेरङ जिल्ला प्रहरी कार्यालय

विराटनगर । असाेज १४

हाल जारि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सट्टेबाज गर्न पैसाको ठूलो कारोबार गर्ने तीनजना विराटनगरबाट पक्राउ परेका छन्। उनीहरूले सामाजिक सञ्जालमा खेल कस्ले जित्ने वा हार्ने भनी बाजी खेलाएर रकम कबोल गराएका थिए।

मोरङ प्रहरीका अनुसार विराटनगर १५ का सत्यजित शाह, विराटनगर १७ का जगदीश शाह र वैजनाथ शाह प्रकाउ परेका हुन्। मंगलबार राती खटिएको प्रहरी टोलीले सत्यजित शाहलाई उनकै घरबाट सट्टा-बाजी गराइरहेको अवस्थामा पक्राउ गरिएको थियो।

यसै गरी मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार उक्त खेलमा अन्य दुई पनि संलग्न भएका कारण पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ३ वटा मोबाइल, एउटा ल्यापटप, एउटा मोटरसाइकल र नगद ६० हजार रूपैयाँ बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान गरी खेलसम्बन्धी मुद्दा चलाइने प्रहरी कार्यालयले जनाएको छ।