विश्वको सबैभन्दा बढी बली दिइने राजदेवीमा यो साल क्षमापूजा मात्रै हुने

१४ आश्विन २०७७, बुधबार

विराटनगर । असोज १४

धनुषामा रहेको प्रख्यात शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली बली प्रदान नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । मन्दिरमा महा-अष्टमीको रातमा विशेष बली प्रदान हुँदै आएको छ ।

विश्वमै सबै भन्दा धेरै बलि दिने मन्दिरको रुपमा चिनिएको राजदेवी मन्दिरमा बढिरहेको कोरोना संक्रमणका कारण बली प्रदान रोकिएको राजदेवी मन्दिरका महन्त राम गिरीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, गुठी संस्थान र युवा क्लवहरुको संयुक्त बैठकले बली प्रदान नगर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले बताएका छन् ।

राजदेवी मन्दिर बाहेक धनुषाको धेरै स्थानमा बली प्रदान हुने गरेकोमा यो पटक ती सबै ठाउँमा बलीप्रदानको सट्टा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने भएको छ ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गतवर्ष १४ हजार ३ सय ६६ बोकाको बली दिइएको थियो । बलिका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष बलि कार्यक्रम हुने गरेको छ ।

राजदेवी मन्दिरका महन्त राम गिरीका अनुसार चिताएको फल प्राप्त भएपछि बोकाको बली दिइने राजदेवीको परम्परा रहेको बताएका छन् । राजदेवीमा दशैंको बेला पूजा गर्नेहरुको अत्याधिक भीड हुने गरेको छ।