मादण्ड विपरीत स्यानीटाइजर बनाउने उद्योग बन्द, औषधि विभागको अनुगमन तीव्र

१४ आश्विन २०७७, बुधबार

विराटनगर। असोज १४

औषधि व्यवस्था विभाग मोरङले गरेको अनुगमनको क्रममा फेला परेका मापदण्ड विपरीत स्यानीटाइजर बनाउने उद्योग बन्द भएकाे छ। मोरङको बूढीगंगामा सञ्चालित पपुलर प्रोडक्श प्रालि बन्द भएको हो।

मदिरा उत्पादन गर्ने गरेका बूढीगंगाका महेश सोनीले लकडाउन सुरु भएपछि मापदण्ड विपरीत स्यानीटाइजर उत्पादन गरेको सूचना पछि विभागले अनुगमन गरेको थियो।

त्यसैगरी विराटनगर – १५ मा सञ्चालित ग्यालेक्सी डेन्टल एण्ड सर्जिकलमा पनि विषाक्त रसायन हालिएको स्यानीटाइजर बनाउने गरेको पाइएको छ। गोदाममा भण्डारण गरी राखिएको अवस्थामा करीब दुई सय कार्टुन स्यानीटाइजर बरामद गरिएको औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले बताए।

अनील चौधरीले सञ्चालन गरेको उक्त उद्योगबाट बरामद भएको स्यानीटाइजरलाई राष्ट्रिय औषधी प्रयोगशालामा पठाउने र मापदण्ड विपरीत पाइए कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

कतिपय स्यानीटाइजरले हातमा घाउ खटिरा हुने, सुनिने वा एलर्जी हुने जस्ता चर्म रोग निम्त्याउन सक्ने भन्दै सचेत रहन विभागले अपील गरिरहेको छ। विराटनगरका हिमगिरी डाइजिङ प्रालि र रिजालको सेनिटाइजर प्रालि लगायत केहीले भने मापदण्ड अनुसार नै उत्पादन गरिरहेको विभागले बताएको छ।