बली दिन भारततर्फ लैजादै गरेका दुई युवतीको सुनसरीबाट उद्धार, संलग्न दुई पक्राउ

१५ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । असोज १५

बली दिन भारततर्फ लगिदै गरेका दुई युवतीलाई सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट प्रहरीले उद्धार गरेको छ ।

नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सिमा क्षेत्रबाट सप्तरी घर भएका १९ र २२ वर्षका दुई युवतीको उद्धार गरेको छ भने युवतीसँगै रहेका दुई पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

प्रहरीले भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका –४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीव कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

युवतीहरुले अाफुहरुलाई सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको प्रहरी समक्ष बताएका छन् । उनीहरुलाई भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको र हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको उनीहरुले बताएका छन् ।

उनीहरुलाई मन्दिरमा साँझको बेला आयोजना हुने पूजामा ध्यानमा बसेवापत दुई लाख रकम दिने भनेर फकाइएको ती युवतीहरुले बताएका छन् । चौधरी थर भएका ती युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन् । यस अघि पनि प्रहरीले विराटनगरको इस्लामपुर नाकाबाट बली दिन भारततर्फ लैजादै गरिएकी सुनसरीकी एक युवतीको उद्धार गरेको थियो ।