फास्टट्रयाकको सुरुङमार्ग र पुलका संरचनाका लागि ४३ कम्पनीको बोलपत्र

१५ आश्विन २०७७, बिहीबार
तस्वीर- द हिमालयन टाइम्स

विराटनगर । असोज १५

काठमाडौं-तराई जोड्ने द्रुततमार्ग (फास्ट ट्र्याक) आयोजनामा सुरुङमार्ग र पुलका संरचना बनाउन ४३ ओटा कम्पनीले बोलपत्र हालेका छन् ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन रहेको फास्टट्रयाकका ११ क्लस्टरमध्ये टनेल प्याकेज १ र २ का लागि आह्वावान गरिएको पूर्वयोग्यतामा परेको बोलपत्र बुधवार खोल्दा ४३ कम्पनीले बोलपत्र हालेको जनाइएको थियो ।

सुरुङमार्ग र पुल निर्माणका लागि कम्पनीले योजना, डिजाइन, इन्जिनीयरिङ, खरीद तथा निर्माणलगायतको अनुभव पूर्वयोग्यता बोलपत्रमा समावेश गरेका छन् । यी दुई प्याकेजमा १६ ओटा कम्पनीले बीड हालेको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन्।

करीब २ हप्ताभित्रमा मूल्यांकन समितिले बोलपत्रहरूको मूल्यांकन सम्पन्न गरी योग्य कम्पनीहरूलाई सर्टलिस्टमा राखिने पौडेलले जनाएका छन् ।