नक्कली प्रहरी निरीक्षक बनेर ठगी गर्ने पक्राउ

१५ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । असोज १५

जिल्ला प्रहरी कार्यालय, पर्साले नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी नक्कली प्रहरी निरीक्षकलाई पोशाकमै पक्राउ गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय, बिर्ताले नक्कली प्रहरी निरीक्षक बनेर ठगी गर्ने बारा, जितपुरसिमरा उ.म.न.पा.–७ चौधरी टोल बस्ने २९ वर्षिय अजयकुमार रायलाई पोशाक सहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जितपुरसिमरा उ.म.न.पा.–५ बस्ने ५७ वर्षिय हिरालाल महतो, २८ वर्षिय बसन्त चौधरी, वीरगंज–१६ बस्ने २१ वर्षिय रवि कुमार चौरसिया, पकाहामैनपुर गा.पा.–५ सबैठवा बस्ने ४७ वर्षिय शिव नारायण चौरसिया र वीरगंज–२७ रानीघाट बस्ने २५ वर्षिय रामजी चौरसियालाई पनि पक्राउ गरेको जनाएको छ ।

बुधवार देव पार्टी प्यालेसमा मध्याह्न १२ बजेतिर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा सञ्चालन भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले सो ठाउँमा छापामारी उनीहरुलाई पक्राउ गरेको थियो ।

बारा, पर्सा र सर्लाहीका २१ परीक्षार्थीसँग रायले ३ लाख ६१ हजार रकम असूल गरेर परीक्षामा सहभागी गराएका थिए । प्रहरीले परीक्षा हलबाट राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ प्रति, सहायक सूचकको प्रश्नपत्र २६ प्रति, खरिदारको प्रवेश पत्र १ थान बरामद भएको जनाएको छ ।