
विराटनगर । असोज १५
कोरोना संक्रमणका कारण बिहिबार बेलुका विराट मेडिकल कलेजमा मृत्यु भएका ६ वर्षीय बालकको उपचार खर्च विराट मेडिकल कलेजले छुट गरिदिने भएको छ ।
जनकपुर उपमहानगरपालिका–२ धनुषाका बालकमा गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । असोज ९ गते विराट मेडिकल कलेजमा भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा बिहिबार बेलुका ४:३० मा मृत्यु भएको कलेजका आइसोलेशन इञ्चार्ज सुनिल देवले जानकारी दिएका छन् ।
अत्याधिक ज्वरोका साथै मेनेन्जाइटिस भएर विराटनगर अस्पतालमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि विराट मेडिकल कलेजमा रेफर गरिएको थियो ।
कलेजले आर्थिक अवस्था कमजोर भएका बालकको उपचारका क्रममा आइसोलेशन चार्जबाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेकोमा त्यो सबै खर्च मिनाहा गरिदिएको छ ।