विराटनगरका तीन सामुदायिक विद्यालयको अटेरी, कोरोनाको बिगबिगीमा समेत कक्षा सञ्चालन

१७ आश्विन २०७७, शनिबार
तस्वीरहरू - प्रेम देवान

विराटनगर । असोज १७

विराटनगरका केही सामुदायिक विद्यालयहरुले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा पनि विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेका छन् ।

सरकारले कोरोनाको महामारी कायमै रहेको र विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गराउन निर्देशन गरेपनि विराटनगर १३ मा रहेको बाल निम्न माध्यमिक विद्यालय, विराटनगर ११ मा रहेको जनपथ स्कुल र धरान रोडमा रहेको सत्यनारायण उ.मा.वि. ले भने सरकारको निर्देशनलाई अटेर गरेर कक्षा सञ्चालन सुरु गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी तथा कोरोना संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) संयोजक कोषहरी निरौलाले वैकल्पिक विधिद्वारा अनलाइन कक्षाहरु सञ्चालन गरेर पठनपाठन चालू राख्न भनेपनि विद्यार्थीहरुलाई उपस्थित गराएर विद्यालय सञ्चालन गर्न अनुमति नदिएको बताएका छन् ।b

उनले विराटनगरमा समुदायस्तरमा नै कोरोना फैलिएकोले गर्दा कुनै पनि विद्यालयले विद्यालयमा नै कक्षा सञ्चालन गरेको भेटिए तत्काल बन्द गराउने समेत बताएका छन् ।