कुलमानको बहिर्गमन र अघोषित लोडसेडिङको चर्चा

१७ आश्विन २०७७, शनिबार

विराटनगर। असोज १७

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान गुरुङले अवकाश पाएको केही दिन मात्र भयो। उनको पुनर्नियुक्तिका चर्चा र जनताले गरेको उनको पुनर्नियुक्तिको माग विस्तारै सेलाउन थालेको छ।

हुनपनि नेपालमा केही कुरा छिटै आउने र सेलाउने भइरहन्छ। कुलमानको बिदाइपछि लोडसेडिङ बढ्न थालेको हो कि भन्ने चिन्ता र आक्रोश उठ्न थालेको छ।

ऊर्जामन्त्री बर्त्समान पुनले भने नियमित बिजुली आपूर्ति भइरहेको र कतै न आए सिधा सम्पर्क गर्नै आग्रह गरिरहे पनि विद्युत् कटौती भने भएको भान सबैलाई हुन थालेको छ।

विद्युत प्राधिकरणले भने कतै पोल सार्ने, कतै मर्मतसंभार तथा कतै विस्तारका नाममा विद्युत कटौती सूचना टाँसेरै गरिरहेको छ।

सुनसरीको इटहरी लगायत क्षेत्रमा शुक्रबारदेखि लागू हुने गरी सडक विस्तारसँगै पोल सार्नु पर्ने भएकाले बिजुली काटिने सूचना आयो भने मोरङको सुन्दरहरैंचा नगरपालिकातिर दिनभरै विद्युत गायब भयो।

ग्रामीण सहकारीले विद्युग आपूर्ति गरिरहेको सो नगरपालिकामा लाइन कुनै न कुनै बाहानामा काटिइरहन्छ। मोरङका अलि भित्री वस्तीमा दैनिक १२ घण्टासम्म नै लोडसेडिङको गुनासो आउन थालेपछि विद्युत प्राधिकरणमा बुझ्न फोन गर्दा उठेन। एकजना कर्मचारीले लोड थाम्न नसकेर विराटचौक एरियामा विद्युत अवरुद्ध भएको बताए।

शनिबार पनि उपत्यका लगायत सबै प्रदेशमा तालिका नै प्रकाशित गरेर विद्युत अवरुद्ध हुने जानकारी गराएको छ। जनमानसमा भने पुरानै १८ घण्टे लोडसेडिङको अभ्यास त भइररहेको छैन? भन्ने त्रास पलाउन थालेको छ।