कांग्रेसका चार केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएसँगै केन्द्रीय कार्यसमितिको बैठक अन्यौलमा

१८ आश्विन २०७७, आईतवार

विराटनगर । असोज १८

सोमबार बस्ने भनेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चार जना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अन्यौलमा परेको छ ।

हुन लागेको १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाएकोमा केही नेताहरुमा र कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएका कारण बैठक अन्यौल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकलाई मध्यनजर गर्दै कांग्रेसले बिहीबार पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण गराएको थियो ।

कोरोना परीक्षण गर्दा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा तथा आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यस्तै केन्द्रीय कार्यसमितिका चार सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जनाएका छन्।