नोबेलले मध्यरातमा कोरोना संक्रमितलाई अस्पतालबाट निकालेपछि

१८ आश्विन २०७७, आईतवार
तस्विर : फाइल

विराटनगर । असोज १८

विराटनगरको नोबेल मेडिकल कलेजले आईसीयूमा उपचाररत एक कोरोना संक्रमितलाई मध्यरातमा अस्पतालबाट निकालेको छ ।

अस्पतालले शुक्रबार कोरोना पुष्टि भएर नोबेलको अाईसीयूमा उपचाररत विराटनगर महानगरपालिका- १४ का ७५ वर्षीय भिखारी यादवलाई राति करिब ८ बजे निकालेको हो ।

अस्पतालमा उपचाररत बिरामीलाई कोरोना पुष्टि भएमा त्यही उपचार गर्नुपर्ने वा अन्यत्र रिफर गर्नुपर्ने भएमा अस्पतालसँग समन्वय गरेर मात्र गर्नुपर्नेमा नोबेलले भने आफन्तलाई दबाव दिएर बिरामीलाई निकालेको हो ।

संक्रमितका छोरा गांगाले कोरोना पोजेटिभ देखिएपछि अन्यन्त्र लैजानू भन्दै अस्पतालले दबाब दिइरहेपछि राति ८ बजे टेम्पोमा राखेर नोबेलबाट निकालेर लगेको बताएका छन् ।

‘नोबेलले निकालेपछि भर्ना गर्न कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, न्यूरो अस्पताल, विमानस्थल मोडमा रहेको होटल एसियाटिकको आइसोलेसन सबैतिर पुर्याएपनि कसैले भर्ना गर्न नमानेपछि ठूलाबडालाई फोन गरेँ’ गांगाले भने ‘राति साढे ९ बजे बल्ल बल्ल न्यूरो अस्पतालमा भर्ना गर्‍यौं ।’

यसअघि शुक्रबार पनि नोबेलको दबावका कारण अन्यत्र लैजाने क्रममा सुकिपुर नगरपालिका-२, सिरहाका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालको दबाब पछि विराट मेडिकल कलेजको आइसोलेसन सेन्टरमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको थियो ।