प्रदेश ५ सरकारको प्रस्तावको विपक्षमा नजान नेकपाले ह्वीप जारी गर्ने

१८ आश्विन २०७७, आईतवार

विराटनगर । असोज १८

प्रदेश नं ५ सरकारले प्रदेशसभामा प्रस्ताव गरेको प्रदेशको स्थायी राजधानी र नामाकरणको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री शङ्कर पोखरेल निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो।

पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्तावको विपक्षमा माग राखेका थिए ।

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले शुक्रबारको बैठकमा प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेसँगै रुपन्देही कपिलवस्तु लगायतका ठाउँमा प्रदर्शन सुरु भएको छ ।