राम्रो काम र पढ्न पाउने लोभ देखाई अष्ट्रेलिया पठाएर ३१ लाख ठगी गर्ने पक्राउ

१८ आश्विन २०७७, आईतवार

विराटनगर । असोज १८

अष्ट्रेलियामा अध्ययनसँगै राम्रो रोजगारी दिलाउने प्रलोभन देखाएर ठगी गर्ने विराटनगरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरमा ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ सञ्चालन गरेर बसेका ३२ वर्षीय प्रमोद स्वर्णकार (सोनी)लाई अष्ट्रेलियामा अध्ययन सहित अाकर्षक रोजगारी मिलाइदिने भन्दै ३१ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

उनले अध्ययनसँगै अष्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिष चौधरीसँग ३१ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा परेको किटानीका अाधारमा सोनीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिएका छन् ।

सोनीले मनिषसँग विभिन्न मितिमा गरि ३१ लाख रुपैयाँ लिएपछि अध्यनसँगै मासिक ३ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै २०७५ फागुन १९ गते अष्ट्रेलिया इन्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजेशन इन्फमेशन सिस्टम विषयको अध्ययनका लागि उनलाई पठाएका थिए ।

आकर्षक जागिर हुन्छ भनेर सोनीले पठाएपनि रोजगार नपाएपछि धेरै समस्या भएको मनिषको भनाइ छ । ८ महिना अष्ट्रेलिया बसेर पनि काम र पढाईसमेत संभव नभएपछि २०७६ कार्तिक १२ गते परिवारले मनिषलाई स्वदेश फिर्ता ल्याएका थिए ।

सोनीलाई प्रहरीले शुक्रबार मोरङ अदालतबाट ‘ठगी मुद्दामा’ ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको डिएसपी राईले बताएका छन् ।