कवि अन्जान प्रदीपकाे कविता- `आविष्कार´

१८ आश्विन २०७७, आईतवार
रातको अङ्गालोबाट
फुत्किएको एक टुक्रा सपनालाई
छरिदिएँ बिहानको आकाशमा –
र दिनभर घाम बनेर उदाएँ ।
छिरेर सम्झनाको
आँखीझ्यालबाट –
टाटेपाटे भित्ताहरुमा
साहस बनेर खोपिएँ ।
पुगेर रहरको बार्दलीमा –
सुकाइरहेँ अतीतका
जड्यौरी लुगाफाटा ।
झरेर शून्यताको आँगनमा-
भइरहेँ उत्साह
बाँडिरहेको सौम्य समय ।
घोप्टिएर विछोडको चिसो तकियामा-
छाडिरहेँ
अभिनव प्रेमको
रापिलो स्पर्श ।
छोपिए पनि
दु:खको बादलभित्र-
बचाइराखेँ आशाका
सहस्र किरणहरू।
टल्किएर शोकका
शीतहरुमा –
बुझाइरहेँ
अभावमा जिउनुको सौन्दर्य ।
सजिएर बाटो / क्षितिज 
र आँखाहरुमा
सम्झाइरहेँ यात्रामा
अटाएको जीवनको अस्तित्व ।
तर,
जति बाँडे पनि उज्यालो –
मैले मान्छेको
हृदयसम्म पुग्न कहिल्यै सकिनँ ।
त्यसपछी नै ,
उसको हृदयको
अन्धकारको रंग लिएरै –
म कालो / अँध्यारो छायाँ भएको हूँ ।
गम्भीर खालका गद्य कविता लेख्ने प्रदीप चितवनका उदयीमान स्रष्टा हुन् ।