‘गाउँमा बोटे युवा देख्नै गाह्रो भो’

२० आश्विन २०७७, मंगलवार
File Photo

नवलपुर, २० असोज (रासस) ः

नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका यहाँका बोटे समुदायले वैकल्पिक पेशा अपनाउन थालेका छन् । ती समुदाय अति सीमान्तकृत जातिको रुपमा सूचीकृत रहेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ का ती समुदायले वैकल्पिक पेशाको रुपमा कृषि तथा वैदेशिक रोजगार अपनाउन थालेका हुन् ।

नदीमा माछा मार्ने तथा बालुवामा सुन चालेर भएको आम्दानीबाट जीविकोपार्जन गर्दै आएको यो समुदायले पछिल्लो समय वैकल्पिक पेशा अपनाउन थालेका हुन् । पुस्तौँ–पुस्तादेखि गर्दै आएको पेशाबाट उनीहरुलाई गुजारा चलाउन गाह्रो भएपछि पेशा परिवर्तन गर्न बाध्य भएको बोटे समुदायका अगुवाहरु बताउँछन् ।

जीविकोपार्जनका लागि मुख्य पेशाको रुपमा रहेको माछा मार्ने काममा समेत विभिन्न अवरोध सिर्जना हुँदा आफूहरुले फरक पेशा परिवर्तन गर्न बाध्य भएको बोटे समुदायका मुखिया डम्बरबहादुर बोटे बताउनुहुन्छ । “केही वर्षदेखि निकुञ्ज प्रशासन तथा सुरक्षाकर्मीले हामीलाई माछा मार्दा समेत अवरोध गर्दै आएका छन्” उहाँले भन्नुभयो, “माछा मार्ने अनुमतिपत्र नवीकरण नगरिदिने, नदीमा जाला हान्न नदिने जस्ता कामहरु निकुञ्जबाट हुँदै आएका छन् ।” नारायणी नदीमा माछा मार्ने क्रममा नेपाली सेनाले माछा नमार्न भन्ने, जाल जफत गरिदिने गर्दा समेत आफूहरु पुख्र्यौली पेशाबाट हात धुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

दिउँसोको समयमा नदीमा माछा समेत पर्न छोडेकाले छाक टार्नै मुस्किल हुने समस्या सिर्जना भएको उहाँको भनाइ छ । पछिल्लो पुस्ताका युवाहरु केही कृषि पेशामा आवद्ध भएका तथा कोही वैदेशिक रोजगारका लागि समेत जान थालेका बाटे अगुवा मङ्गुराम बोटे जानकारी दिनुहुन्छ । “अहिले गाउँमा बोटे युवाहरु देख्न गाह्रो भइसकेको छ” उहाँले भन्नुभयो, “केही युवाहरु साउदी, कतार गएका छन् भने केही भारतको गोवा जाने गरेका छन् ।” गाउँमा रहेका उमेर ढल्किदै गएका अन्य व्यक्तिहरु पनि माछा मारेर जीविकोपार्जन गर्न नसकेपछि खेती किसानी तथा ज्याला मजदुरी गर्न लागेका मङ्गुराम बताउनुहुन्छ ।

करिब १० वर्ष वैदेशिक रोजगारमा गएर फर्किनुभएका एकासि बाटेले यहाँ माछा मारेर परिवार पाल्नै समस्या भएपछि विदेशीएको बताउनुभयो । “बुबा तथा दाइहरुले माछा मारेरै गुजारा गर्दै आउनुभएको थियो, म पनि केही वर्ष माछा मार्न हिँडे तर माछा मारेर परिवार पाल्न सकिनँ” उहाँले भन्नुभयो, “त्यसपछि वैदेशिक रोजगारीको सिलसिलामा करिब १० वर्ष साउदीमा बिताएँ ।” साउदीबाट फर्किएपछि उहाँले गाउँमै खेत किनेर खेतीपाती गर्दै आएको बताउनुभयो ।

माछा मार्न जाँदा घाम पानी सहेरै जाल हाल्नुपर्ने तथा कहिलेकाहीँ माछा नपर्दा भोकै समेत बस्नु परेको भन्दै एकासिले अहिले कृषि पेशा अङ्गालेपछि परिवार समेत खुसी भएको बताउनुहुन्छ । यहाँका बोटे समुदायमा कसैले आफ्नै खेतबारी किनेका छन् भने केहीले बन्धकी तथा अधियाँमा खेतीपाती गर्न थालेका उहाँले बताउनुभयो । पहिले जीविकापार्जनका लागि माछा मार्न जाने यो समुदायका अधिकांश मानिस अहिले कहिलेकाहीँ मात्रै माछा मार्न जाने गरेको उहाँको भनाइ छ ।

एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोटे समुदायको जनसङ्ख्या १० हजार ३९७ छ । ती मध्ये नवलपरासीमा एक हजार ९० पुरुष तथा एक हजार १२४ महिलासहित दुई हजार २१४ जना बोटे रहेका छन् । बाटे समुदायको मुख्य वासस्थान भनेको नारायणी नदीकिनारको गाउँ हो र अहिले नवलपरासी दुई वटा जिल्लामा टुक्रिदा समेत बोटेको धेरै जनसङ्ख्या नवलपरासी पूर्वमा रहेको छ । मध्यविन्दुको वडा नं २, ३, ४, १२ र १५ मा ती समुदायको बढी बसोबास रहेको छ ।

अति सीमान्तकृत बोटे समुदायका लागि नगरपालिकाले घर निर्माणदेखि आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिरहेको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । “हामीले बोटे परिवारका लागि घर निर्माणको काम अगाडि बढाएका छौँ” उहाँले भन्नुभयो, “केहीको घर निर्माण गरिसक्यौँ, केहीको निर्माणको क्रममा लकडाउन हुँदा काम अगाडि बढाउन सकेनौँ ।”

अब अवस्था सामान्य बन्दै गएपछि बाँकी रहेका बोटे परिवारका लागि समेत घर निर्माण गरिदिने उहाँले बताउनुभयो । नगरपालिकाले आर्थिक सहयोग गरेर प्रति परिवार दुई कोठे घर निर्माण भइरहेको रानाको भनाइ छ । शौचालय सहित निर्माण भइरहेको घरमा इँटाको गाह्रो तथा टिनको छानो राखिएको उहाँले जानकारी दिनुभयो ।